काठमाडौँ, २८ असोज । काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट चाडपर्व सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ विजयचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २६ वर्षीय सबिन मिजार र सोही ठाउँ घर भई माछापोखरी नै बस्ने १९ वर्षीय समिर तामाङ रहेका छन् ।
गौशाला वडा एरियामा घरभित्र छिरेर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट चोरी गरिएका विभिन्न कम्पनीका ७ थान मोबाइल र १० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला, काठमाडौँ पठाइएको छ ।








