एजेन्सी, २८ असोज । जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान एआई–२०३० लाई सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान भारतीय हवाई क्षेत्रनजिक पुग्दा सुरक्षा सतर्कता जारी गरिएको थियो । त्यसपछि हवाई ट्राफिक नियन्त्रण (एटीसी) र सुरक्षा निकायलाई जानकारी गराउँदै विमानलाई दिल्लीको सट्टा जयपुर पठाइएको थियो ।
विमान जयपुर विमानस्थलमा सुरक्षित अवतरण गरेको र त्यसमा सवार सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ । अवतरणपछि विमानलाई विमानस्थलको आइसोलेसन क्षेत्रमा राखेर केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), स्थानीय प्रहरी र बम निरोधक टोलीले जाँच गरेका छन् । यात्रुका सामानसमेत परीक्षण गरिएको छ ।
प्रारम्भिक विवरणमा विमानमा बमको धम्की आएको र अपहरणको आशंका गरिएको उल्लेख भए पनि विमानस्थलका एक अधिकारीले दिएको जानकारीअनुसार यो घटना अपहरणको अफवाहसँग सम्बन्धित हुन सक्ने देखिएको छ । यद्यपि, घटनाबारे अनुसन्धान जारी रहेकाले यसको वास्तविक कारण पुष्टि भइसकेको छैन । समाचार तयार पार्दासम्म एयर इन्डिया र विमानस्थल प्रशासनले घटनाबारे आधिकारिक वक्तव्य जारी गरेका छैनन् । यसअघि पनि एयर इन्डिया समूहको विमानमा यस्तै घटना भएको थियो ।
गत अगस्ट ३१ मा साउदी अरबको दम्मामबाट दिल्ली आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडान आईएक्स–१७० को शौचालयमा ‘बम’ लेखिएको टिस्यु पेपर भेटिएपछि विमानलाई अहमदाबादमा आकस्मिक अवतरण गराइएको थियो । उक्त विमानमा सवार सबै ३२ यात्रु सुरक्षित थिए भने अनुसन्धानका क्रममा कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन ।








