काठमाडौँ, २१ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री गौतमले राष्ट्रिय सेवा दलका विषयमा संसद्मा पनि पहिले नै स्पष्ट पारिसकिएको स्मरण गराउँदै यसलाई अर्ध सैन्य संस्थाका रूपमा नबुझ्न आग्रह गरिन् । यो एउटा विशेष प्रकृतिको शिक्षा र सिपमूलक तालिम भएको भन्दै मन्त्री गौतमले यसले युवाहरूमा अनुशासन र सामाजिक दायित्वको भावना विकास गर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘यो सैन्य शक्ति हुँदै होइन । विद्यालय र माध्यमिक तह (प्लस टू) सम्मका विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउन यो कार्यक्रम लक्षित छ । यस अन्तर्गत नैतिक शिक्षा, अनुशासन, संगीत, नृत्य, शारीरिक तन्दुरुस्ती, खेलकुद, विपद् जोखिम न्युनिकरण र सांस्कृतिक संरक्षण जस्ता विभिन्न विधामा विद्यार्थीहरूलाई तालिम दिइन्छ ।’





