काठमाडौँ, १५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले नेपालको संविधानले दिएको आरक्षणको अधिकारबाट क्षमता अभिवृद्धि गर्दै खुल्ला प्रतिपर्धाको बाटोबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल अपाङ्ग महिला संघले आज यहाँ आयोजित अपाङ्गगता भएका व्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गगता भएका महिलाका राजनीतिक तथा सामाजिक सहभागिता विषयक नीतिगत संबाद कार्यक्रममा क्रममा बोल्दै नेता भट्टराईले लोकतान्त्रीक समाजमा कुनै पनि नागरिक तथा समुदायले आफ्नो अधिकार माग्ने र दिने नभई लडेर लिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक कानुन परिमार्जन गर्नुपर्ने बताउँदै आगामी नेकपाको महाधिवेशनमा अपाङ्गता भएका समुदायको आरक्षणमा सुनिश्चितता गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका सदस्य प्रकाश पन्तले अपाङ्गगता सम्बन्धी ऐन र संविधानमा एकता ल्याउनुपर्ने बताउनुभयो । उहाँले पार्टीले निर्वाचनका समयमा दिकट दिने सवालमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले विश्वको मुलुकका तुलनामा निर्वाचन प्रणालीमा नेपाल व्यवस्थित र प्रभावकारी भएको बताउँदै अपाङ्गतामैत्री वातावरण सिर्जना गर्न ऐन तथा नियमलाई सरलिकरण गरी आयोगले निर्देशिका बनाउने बताउनुभयो । त्यस्तै निर्वाचनका समयमा अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क नभएका कारण निर्वाचनका समयमा आवश्यक स्रोत तथा साधनको व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
कार्यक्रममा मित्रलाल शर्मा, भोजराज श्रेष्ठ, सुदर्शन सुवेदी तथा सहभागिले संविधानले दोहोरो प्रकारको चरित्रको अन्त्य गराउँदै समतामूलक समावेशितामा हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँहरुले चेतनामुलक कार्य गर्दै अधिकारलाई व्यवहारिकतामा लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला धितालले नेपालमा अपाङ्गता भएका समुदायका मानिसको पहिचान तथा सचेतनाको विकास नहुँदा संख्यामा कम देखिएको बताउनुभयो । उहाँले अपाङ्गता भएका समुदायलाई अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायमा समान पहुँच गराउनुपर्नेमा जोड समेत दिनुभयो ।







