काठमाडौँ, १० पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिद प्रक्रियामा गल्ती गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समिति मातहतको उपसमितिको आजको बैठकमा उहाँले भन्नुभयो, “जहाँ गल्ती भएको छ, त्यो पत्ता लगाएर त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याइनेछ । हावामा उड्ने र वास्तविकतालाई कुल्चेर कुद्ने अवस्थाको अन्त्य गर्नुपर्छ, समितिले दिने निर्देशनलाई गम्भीरताका साथ लिएर अघि बढ्न मन्त्रालय तत्पर छ ।”
अबको दुई वर्षभित्रमा नेपाल वायु सेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठीक बाटोमा हिँडाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आगामी दुई महीनामा निगमका विमानले जापानसम्म उडान भर्ने जानकारी दिनुभयो ।
जहाज बिग्रेको अवस्थामा बाहेक निगमका उडान ठीक समयमा हुने व्यवस्था मिलाइएको जानकारी गराउँदै उहाँले निःशुल्करुपमा निगम कसैलाई पनि उपलब्ध नहुने व्यवस्थालाई कडाइ गरिएकाले एक वर्षभित्रमा आम्दानी र खर्चको सन्तुलन हुने दाबी गर्नुभयो ।






