बारा, २६ बैशाख । निजगढस्थित एक होटलमा बास बसेकी २५ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको छ ।
निजगढ नगरपालिका–९ बुद्धचोकमा रहेको गुरुङ होटलको कोठामा घाइते अवस्थामा फेला परेकी निजगढ नगरपालिका–१२ की सीता थिङको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वैशाख २५ गते राति थिङ होटलको कोठाभित्र घाइते अवस्थामा फेला परेकी थिन् । प्रहरी टोलीले उनलाई तत्काल सामुदायिक अस्पताल प्रसूति गृह पुर्याएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको समयमा मृतक थिङसँगै सोही होटलको कोठामा निजगढ–९ की १८ वर्षीया अनु सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरूसँगै आएका जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन रहेका थिए । सो क्रममा प्रहरीले सुनिल बोम्जनलाई राति १ बजे टाँगिया बस्ती नजिकैको जंगल छेउबाट र महेश माझीलाई राति ४ बजे निजगढ–७ माझीटोलबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।






