काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न किसानको श्रमलाई उच्च सम्मान गरिनुपर्ने बताएका छन् ।
आज २१औं राष्ट्रिय धान दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले असार १५ लाई नेपाली किसानको श्रम, सङ्घर्ष र आशाको उत्सवका रूपमा चित्रण गरेका हुन् ।
उनले नेपालको संविधानले प्रत्येक नागरिकका लागि ‘खाद्य सम्बन्धी हक’ लाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै देशको मुख्य खाद्यान्न धानको उत्पादकत्व वृद्धि गर्नु नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्म पालना गर्नु रहेको उल्लेख गरे। यद्यपि, हरेक वर्ष किसानले बीउ, मल, सिँचाइ र उचित मूल्यको अभावमा सङ्घर्ष गरिरहनुपरेको यथार्थप्रति उनले चिन्ता व्यक्त गरे ।
नेपालको धान खेती अझै पनि ठूलो मात्रामा आकाशे पानीमा निर्भर रहनुपरेको र जलवायु सङ्कटले थप चुनौती थपेको बताउँदै थापाले यस वर्षको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए । उनले परम्परागत र जोखिमपूर्ण खेती प्रणालीको सीमालाई नाघेर मौसम अनुकूल एवं पर्यावरणमैत्री प्रविधिको प्रवर्द्धन गर्नु आजको प्राथमिक आवश्यकता भएको बताए ।
आफ्नो शुभकामना सन्देशमा उनले भनेका छन्, “प्रविधिमैत्री रूपान्तरणले एकातिर प्रतिकूल मौसमी जोखिमका बीच पनि धानको उत्पादन बढाउन ऊर्जा प्रदान गर्नेछ भने अर्कोतिर वर्षेनी बढ्दो चामल आयातको चक्रलाई तोड्दै राष्ट्रिय स्वाधीनता र खाद्य सम्प्रभुताको मार्ग प्रशस्त गर्नेछ।”






