काठमाडौँ, २३ बैशाख । स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेका छन् । पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका थिए ।
पीडित महिलाले दिएको जाहेरी अनुसार मंगलबार बिहान करिब ७ बजे मोटरसाइकलमा लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए । नम्बर दिन अस्वीकार गरेपछि ती युवकले अश्लील हर्कत गरेको उजुरीमा उल्लेख छ ।
घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका युवकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।






