काठमाडौँ, २२ बैशाख । पर्सा प्रहरीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका एक फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नं. २ घर भएका २२ वर्षीय बेगम विकलाई आज बिहान वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित विर्ता चोकबाट नियन्त्रणमा लिएको हो । उनी सो सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए ।
पक्राउ परेका विक यसअघि जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए। उनीमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतले ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। कैद भुक्तान गरिरहेकै अवस्थामा सुधार गृहबाट भागेका उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो ।
नियन्त्रणमा लिइएका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार नै पुनः बाल सुधार गृह वीरगञ्जमा पठाइएको छ ।






