दाङ, १६ बैशाख । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य शुभारम्भ गरेको छ ।
आज उक्त सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट लाभदायी तथा अत्याधुनिक निर्माण प्रविधि फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिने भएको छ । बलियो एवं टिकाउ सडक निर्माण गरेर, पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनः प्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दाे तथा लागत प्रभावकारी बनाउन सहयोग गर्ने आयोजकले जनाएको छ । यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ । सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपूर्ण अंश हो र यसले ढुवानी लागत घटाउने तथा नेपालका सडकको अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडक खण्ड स्तरोन्नति कार्य शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गर्नुभयो । “यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्वपूर्ण अग्रगामी कदम हो । यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दाे बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ”, उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले भन्नुभयो, “आजको यस धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो । एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौँ ।” उहाँले थप्नुभयो, “यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले उक्त समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “एमसिए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको उल्लेख गर्न पाउँदा एमसिए–नेपालको सञ्चालक समितिका सदस्यका रूपमा मलाई हर्ष लागेको छ । यो सहकार्यले सबल पूर्वाधार निर्माण र हाम्रा समुदायहरूका लागि आर्थिक अवसर विस्तारप्रति हाम्रो साझा प्रतिबद्धता प्रतिविम्बित गर्छ । संलग्न सबैको प्रयासप्रति म सराहना व्यक्त गर्न चाहन्छु र यस महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्छु ।”
एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले आजको यस महत्वपूर्ण कदमले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधिहरू प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसीसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उल्लेख गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भन्नुभयो, “धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण कदम हो । एमसिए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध छ ।” उहाँले अगाडि थप्नुभयो, “म नेपाल सरकार, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन र हाम्रा प्रमुख सरोकारवालाहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका साथै एमसिए–नेपाल सञ्चालक समितिप्रति उहाँहरूको अनवरत सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु ।”







