काठमाडौँ, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको छ । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।
काङ्ग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताउनुभयो । विधान स्वीकृतसँगै स्वतःविघटनको सङ्घारमा पुगेको नेविसङ्घको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयावधि प्राप्त भएको छ ।





