आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा देखाइँदै

काठमाडौँ, २० साउन । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।

भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता नलागेको उनको भनाइ छ । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधीले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन् । यस अवसरमा सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १० जेठ । लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका

काठमाडौँ, १० जेठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना

काठमाडौँ, १० जेठ । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले