१० हजार झोलुङ्गे पुल निर्माण

काठमाडौँ, ३ असोज । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । 

उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो । अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हजार ८४१, गण्डकीमा दुई हजार २६४, लुम्बिनीमा एक हजार ४१९, कर्णालीमा एक हजार २४२ र सुदूरपश्चिम प्रदेशमा एक हजार २५९ गरी कुल १० हजार ४०९ वटा झोलुङ्गे पुल निर्माण भएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक भरतप्रसाद अर्यालले सरकारले अहिले दैनिक औसत रूपमा दुई वटा झोलुङ्गे पुल निर्माण गर्दै आएको बताए । पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दुरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार सरकारले पहाडी जिल्लामा तरितराउलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो । “पहिला झोलुङ्गे पुल नदी तरितराउका लागि मात्र हुन्थ्यो,” उनले भने, “अहिले नदी तरितराउका साथै आवतजावतमा दुरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।” 

उनका अनुसार पुल निर्माणका लागि सरकारले सबै प्रकारका सहयोग गरेको र झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको हो । १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीन वटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

काठमाडौँ, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ