काठमाडौँ, ७ असार । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।





