काठमाडौँ, १५ जेठ । नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुन थालेको छ ।
आज सुनको भाउ प्रतितोला ८६ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । नेपालमा बन्दाबन्दी सुरु भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्यो। त्यसबेला तीन दिनमै सुनको भाउ १७१ डलरसम्म महँगिएको थियो ।
त्यसयता अझै बढेको सुन ५ जेठमा १७६५ डलरसम्म पुगेर केही ओरालो लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश १७१० डलर पुगेको मूल्यकै आधारमा बुधबारका लागि यहाँ प्रतितोला ८६ हजार १ सय मूल्य निर्धारण भएको हो।
महासंघले बुधबारका लागि चाँदीको भाउ प्रतितोला ८९० रुपैयाँ तोकेको छ । बन्दाबन्दी सुरु हुनुअघि चाँदी सस्तिएर तोलाको ७२० रुपैयाँमा झरेको थियो। चाँदीको भाउ यसअघि ९०५ रुपैयाँसम्म पुगेको छ ।






