आज छठ पर्व मनाइँदै

काठमाडौँ, २९ कार्तिक । हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्था, श्रद्धा र प्रकृतिपूजासँग सम्बन्धित महान् पर्व छठ आज सूर्य भगवानको विधिपूर्वक पूजाआराधना गरी धुमधामका साथ मनाइँदै छ ।

विशेषगरी नेपाल तथा भारतका हिन्दु समुदायले नेपालीहरूको दोस्रो ठुलो चाड तिहार लगत्तै मनाउने यो चाड कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ ।

अहिंसा, परोपकार र सद्भावको सन्देश दिने यो पर्व मुख्यतया तराई तथा मधेसवासीहरूको महान् चाड भए पनि पछिल्लो समय हिमाल र पहाडी भेगमा बस्ने सम्पूर्ण नेपालीहरूले समेत यसलाई उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउन थालेका छन् ।

चार दिनसम्म अत्यन्त निष्ठाका साथ मनाइने यस पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुहरूले बिहानै स्नान गरी, हातगोडाका नङ काटेर घर सफा गर्दछन् र चोखो भात, दाल तथा लौकाको तरकारीलगायतका सात्त्विक भोजन ग्रहण गर्दछन् । पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ, जसमा व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर साँझपख पवित्र जलाशयमा स्नान गर्दछन् । त्यसपछि दूध, चामल र सख्खरबाट बनेको खीर (रसियाखीर) पकाएर प्रसादका रूपमा ग्रहण गरी मुख्य व्रतको सुरुआत गर्दछन् ।

पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिन ‘सन्ध्या अर्घ्य’ दिइन्छ । यस दिन निराहार रहेका व्रतालुहरू साँझपख खोला, नदी, पोखरी तथा जलाशयमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य अर्पण गर्दछन् र रातभर नदी किनारमै जाग्राम बसी भजनकीर्तनमा लीन हुन्छन् । पर्वको चौथो तथा अन्तिम दिन सप्तमीमा ‘उषा अर्घ्य’ दिने गरिन्छ। बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर पूजा विसर्जन गरिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्दछन् र आफन्तजन तथा श्रद्धालुहरूलाई बाँडेर चार दिने कठोर व्रत समापन गर्दछन् ।

छठ पूजाका लागि उखु, केराको बोट र फल, बेसार, अदुवा, नरिवल, जौ तथा विशेष परिकारका रूपमा ठेकुवा र भुसुवा जस्ता सामग्रीहरूको प्रयोग गरिन्छ। अत्यन्त पवित्र र शुद्ध मनले षष्ठी भगवती र सूर्यको पूजाआराधना गर्दा पारिवारिक मनोकामना पूरा हुने, घरपरिवारमा सुख–शान्ति तथा समृद्धि छाउने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । साथै, यो पर्वमा विशेष रूपमा पुत्र, पति तथा सम्पूर्ण परिवारको दीर्घायु र कल्याणको कामना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको

काठमाडौँ, २८ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर

काठमाडौँ, २८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको जल

काठमाडौँ, २७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन् ।  नेपालको संविधानको धारा १२९