काठमाडौँ, १९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरले अनमोल केसीको चरित्र खुलाएको छ । गाउँमा पढाउन गएका शिक्षकको भूमिकामा अनमोल रहेको प्रस्ट ट्रेलरले खुलाएको छ । त्यहीँ भेटिएकी एक युवती (प्रिन्सी खतिवडा)सँगको सामीप्यता र विवाहका लागि गरेको प्रस्ताव ट्रेलरमा देखिन्छ ।
अनमोल, प्रिन्सीसँगै भुवन केसी र गरिमा पन्तलाई पनि ट्रेलरले समेटेको छ । भुवन र गरिमाको बाध्यतालाई पनि ट्रेलरले देखाएको छ, तर प्रस्ट खुलाएको छैन ।
कार्तिक २६ गतेबाट प्रदर्शन हुने चलचित्रलाई भुवन केसीले निर्देशन गरेका छन् । जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्रलगायतको पनि अभिनय छ ।







