म उमेदवार नभएकाले हार भयो : ट्रम्प

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

चुनाव प्रचारका क्रममा आफूलाई निर्वाचनको मुख्य अनुहारका रूपमा प्रस्तुत गर्दै आएका ट्रम्पले मतदातालाई आफ्नै कार्यसम्पादनका आधारमा उमेदवारहरूलाई मत दिन आग्रह गरेका थिए । उनले चुनावी अभियानका क्रममा ४७ पटक आफ्नै नाम उल्लेख गर्दै मतदान गर्न अपिल गरेका थिए ।

तर, नतिजा सार्वजनिक भएपछि ट्रम्पले आफू उमेदवार नभएकै कारण रिपब्लिकन समर्थकहरू ठूलो संख्यामा मतदानमा सहभागी नभएको बताएका छन् । 

यस निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेको छ । यसले ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनका नीति तथा योजनालाई संसद्बाट अघि बढाउन कठिन बनाउने बताइएको छ ।

चुनावको नतिजापछि ‘न्युयोर्क टाइम्स’सँग ट्रम्पले आफू निर्वाचनमा उमेदवार नभएकाले ठूलो संख्यामा मतदातालाई मतदान केन्द्रसम्म ल्याउन नसकिएको बताएका छन् ।

उमेदवार छनोटदेखि चुनावी मुद्दा, रणनीति र प्रचार अभियानको सन्देश निर्धारणसम्म ट्रम्पले प्रत्यक्ष भूमिका खेलेका थिए । उनले मतदातालाई आफ्नो कार्यसम्पादनका आधारमा मतदान गर्नसमेत बारम्बार आग्रह गरेका थिए ।

रिपब्लिकन पार्टीको पराजयका पछाडि महँगी र इरान युद्धलाई प्रमुख कारण मानिएको छ । सत्तामा आउनुअघि ट्रम्पले महँगी नियन्त्रण गर्ने र अमेरिकालाई नयाँ युद्धबाट टाढा राख्ने प्रतिबद्धता जनाएका थिए ।

तर, उनको कार्यकालमा इरानसँग युद्ध सुरु भयो । त्यसले तेलको मूल्य बढाउनुका साथै अमेरिकामा पेट्रोल महँगो बनायो । ट्रम्पले आफ्ना प्रतिबद्धता पूरा नगरेको मतदाताहरूको बुझाइ थियो । महँगीबाट राहत र सुरक्षित सीमा चाहेका उनीहरूले बढ्दो उपभोग्य वस्तुको मूल्य र नयाँ युद्धको सामना गर्नुपर्याे ।

अन्य देशबाट आयात हुने सामानमा ट्रम्पले लगाएको भन्सार शुल्क तथा आप्रवासीविरुद्ध सरकारले अपनाएको कडा नीतिले पनि असन्तुष्टि बढाएको थियो । वर्षौंदेखि अमेरिकामा बसोबास गर्दै आएका व्यक्तिसमेत पक्राउ परेपछि सरकारको आप्रवासन नीतिको आलोचना भएको थियो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान युद्धलाई निर्वाचनमा पराजयको प्रमुख कारणमध्ये एकका रूपमा उल्लेख गरेका छन् । 

ट्रम्पले आफ्नो रोजाइका नेताहरूलाई रिपब्लिकन पार्टीको उमेदवार बनाउन सक्रिय भूमिका खेलेका थिए । तर, उनले समर्थन गरेका उमेदवारहरू पनि चुनाव जित्न असफल भए ।

टेक्सासमा केन पाक्सटन र साउथ क्यारोलाइनामा डार्लिन ग्राहमलाई ट्रम्पले समर्थन गरेका थिए । तर, दुवै पराजित भए । पार्टीभित्रका केही नेताहरूले उनीहरूको सट्टा अन्य उमेदवार बढी उपयुक्त हुने धारणा राखेका थिए ।

ट्रम्पले रिपब्लिकन पार्टीको सिट संख्या बढाउने उद्देश्यले विभिन्न राज्यमा निर्वाचन क्षेत्रको सीमांकन फेरबदल गर्ने प्रयाससमेत गरेका थिए । तर, त्यसले अपेक्षित परिणाम दिन सकेन ।

डेमोक्रेटहरूले रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेका निर्वाचन क्षेत्रमा समेत राम्रो प्रदर्शन गरे । बीबीसी र इनडिपेन्डेन्ट 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री

काठमाडौँ, १९ कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ

काठमाडौँ, १९ कार्तिक । सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार

काठमाडौँ, १८ कार्तिक । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।