काठमाडौँ, २६ बैशाख । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सीमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्त्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनमा उनले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै नेता पोखरेलले उनको विचार र निष्ठालाई चिरस्थायी बनाउन प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको जानकारी दिए ।
उनले भने, ‘स्वर्गीय अधिकारीले बसाल्नुभएको ज्येष्ठ नागरिक सम्मानको जगलाई आज सबै तहका सरकार र समाजले अपनत्व ग्रहण गर्नु सुखद पक्ष हो । अब यसलाई थप परिष्कृत गर्दै उहाँहरूको अनुभवलाई विकासको अभियानमा जोड्नुपर्छ ।’
ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।






