काठमाडौँ, २० बैशाख । ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाएर बसेका पुरानो मितिका २९ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाख छापिसकिएको छ ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिकमा भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको हो । दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भएअनुसार थप १७ लाख लाइसेन्स छाप्न सुरु गरी सकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । १७ लाखमा ५ हजार १ सय १ लाइसेन्स छापिइसकेका छन् । ५४ हजार ८ सय ६१ लाइसेन्स भने छापिने प्रक्रियामा छन् ।
केन्द्रका अनुसार अहिलेसम्म ३७ हजार ८ सय ८६ आपत्कालीन र ट्रायल पास गरी दैनिक राजस्व बुझाएका ३६ हजार १ सय ४० लाइसेन्स छापिइसकेका छन् । नयाँ लाइसेन्स छपाइका लागि औसतमा दैनिक ४ हजारको संख्यामा डेटा आउने गरेको छ । देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट आउने संख्या हो यो ।





