काठमाडौँ, ५ बैशाख । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुईवटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एकजनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको वाग्मती गाउँपालिका–७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेका छन् ।
हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा गम्भीर घाइते भएका थोकरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी मकवानपुरको वाग्मती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उउपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका छन् ।
उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






