काठमाडौँ, ५ बैशाख । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ मा पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो । तर वास्तविकता ठिक उल्टो देखिएको छ । हालसम्मको सार्वजनिक मूल्यसूची हेर्दा सरकार गठनपछि इन्धनको मूल्य पटक पटक बढाइएको छ ।
पार्टीले थप भनेको छ– ‘इन्धनको मूल्य एक पटक बढ्दा त्यसको असर पेट्रोल पम्पमै सीमित रहँदैन । यातायात, ढुवानी, कृषि, निर्माण, उद्योग, खुद्रा व्यापार, विद्यालय, अस्पताल र घरपरिवारको दैनिक खर्चसम्म यसको श्रृंखलाबद्ध असर पुग्छ । अझ गम्भीर पक्ष के हो भने बजारमा एक पटक लागतको नाममा भाउ उक्लिएपछि, पछि इन्धन मूल्य पुरानै भाउमा फर्किए पनि धेरै वस्तु तथा सेवाको मूल्य पुरानै स्तरमा फर्किँदैन । त्यसैले इन्धन मूल्यवृद्धि महँगीको अनुकूल वातावरण सिर्जना गर्ने सबैभन्दा संवेदनशील कारणमध्ये एक हो ।’
उज्यालो नेपाल पार्टीले सरकारसमक्ष राखेको मागहरु:
१, पेट्रोलियम पदार्थमा लागेका कर, भन्सार, पूर्वाधार कर तथा अन्य शुल्कको तत्काल पुनरावलोकन गरी खुद्रा मूल्य घटाउने निर्णय गरियोस् ।
२, मूल्य स्थिरकरणका लागि उपलब्ध कोषहरू जनतालाई राहत दिन तत्काल प्रयोग गरियोस् ।
३, नेपाल र भारतका सीमावर्ती बजारबिचको अस्वाभाविक मूल्य अन्तर घटाउन विशेष मूल्य समानीकरण संयन्त्र बनाइयोस् ।
४, चोरीपैठारी, कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ नियन्त्रणका लागि संयुक्त अनुगमन अभियान सञ्चालन गरियोस् ।
५, विद्युतीय चुलो, विद्युतीय सवारीसाधन र स्वदेशी ऊर्जा प्रयोगमा लक्षित सहुलियत दिई पेट्रोलियम निर्भरता घटाइयोस् ।
६, नेपाल आयल निगमको वास्तविक परल मूल्य, कर संरचना, नाफा नोक्सान र मूल्य समायोजनको आधार पूर्ण पारदर्शितासहित नियमित सार्वजनिक गरियोस् ।






