भक्तपुर, १९ साउन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरवासी जनताले उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभएको छ ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ कमिटी आज गुण्डूमा आयोजना तथा किवाचोक यवा क्लव, लिखानारायण मन्दिर संरक्षण तथा विकास समिति तथा गुण्डू पर्यटन प्रवद्र्धन तथा युवा परोपकार समाजको सहकार्यमा भएको विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ तथा बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री थापाले आमम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार औषधी खान नपाएर ज्यान गुमाउनु नपरोस् भनेर मैले बागमती प्रदेशका सवै जिल्लाका अस्पतालहरुलाई निर्देशन दिइसकेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै पनि नागरिकले आफ्नै ठाउँमा उपचार गर्न पाइएन भनेर भन्नु नपरोस् । कुनै पनि उपचारको लागि मनोहरा कटेर काठमाडौँ जानु नपरोस् भन्ने महत्वपूर्ण योजनाका साथ मैले योजनाहरु अगाडी बढाएको छु, कार्य थालनि गरिरहेकोछु । कार्यान्वयन गर्न थालिसकेको छु । अस्पतालका विज्ञ तथा डाक्टर, व्यवस्थापन समितिहरुसँग सझुावहरु लिइरहेको छु । सुविधा सम्पन्न अस्पतालहरु बनाउने योजना बनाइरहेको छु ।’
नागरिकले उपचार नपाउने अवस्था अस्पताले बनाएमा कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको बताउँदै उहाँले काठमाडौँका दुई स्थानमा पानीका कारण हैजा आएको कारण त्यसलाई नियन्त्रण गर्न विज्ञ टोलीलाई खटाईएको बताउनुभयो । भक्तपुरका जनाको विश्वास र भरोषालाई टुट्न नदिने उल्लेख गर्दै सूर्यविनायक अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन र आवश्यक जनशक्ति, पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । विगतमा काम गरिरहेका करारका कर्मचारीहरुको एक वर्षको म्याद थप्ने प्रकृया अगाडी बढिसकेको जानकारी गराउँदै उहाँले नीजि तथा सरकारी अस्पताललाई बागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै पनि कन्जुस्याई नहुने स्पष्ट पार्नुभयो ।
नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व, कार्यकर्ता र विकासलाई जोडेर सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धिको पक्षमा एमालेले चलाएको अभियानले विगतमा भक्तपुरको मुहार ऐतिहासिक रुपमा परिवर्तन भएकको उल्लेख गर्दै उहाँले यो वा त्यो बहानामा विकास रोक्ने र एमालेको नेतृत्वमा भएको विकासको जस अरुले लिन नसक्ने बताउनुभयो । भक्तपुर एमालेमा कुनै गुट उपगुट नभएको उल्लेख गर्दै कार्यकर्तालाई अनुशासित ढंगले अगाडी बढ्न निर्देशन दिनुभयो । प्रविधिको उचित प्रयोग गरी पार्टीको राम्रा राम्रा कार्यहरु प्रचार गर्नुपर्ने उल्लेख गर्दै कुनै कुरामा चित्त नबुझे पार्टी नेतृत्वलाई सुझाव दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्यव समितिका प्रमुख इश्वर बहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापालगायतले शुभकामना मन्वत्य राख्नुभयो । कार्यक्रममा नवनियुक्त मन्त्री थापालाई सम्मान गरिएको छ । त्यस्तै विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ समेत गरिएको छ । जसले वडा नं. ७ मा भएका सम्पूर्ण विकास निर्माणहरुको संरक्षण गर्ने बताइएको छ ।