विराटनगर, ६ चैत । सिटिजन्स बैंक विराटनगरमा कार्यरत एक कर्मचारी होटेलमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैंकका कर्मचारी क्षितिज घिमिरे विराटनगर महानगरपालिका–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् ।
घिमिरेको शव सो होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारका तर्फबाट सोमबार प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो । उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।