काठमाडौँ, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको वर्तमान व्यवस्था असफल भइसकेको दाबी गरेका छन् ।
सोमवार काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको आरोप लगाए । उनले अहिलेको व्यवस्था असफल भएकोले जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने बताएका थिए । सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहने उनले बताए ।
‘असफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा बृहत राष्ट्रिय मोर्चा निर्माण गरिनुपर्छ,’ थापाले भने, ‘राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापना राजनीतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ ।’