काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्र नभएर देशकै नेता भएको बताएका छन् ।
नेपाल संवतको नयाँ वर्षको अवसरमा बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रममा उनले आफूले देशका लागि ५८ वर्षसम्म लडेको, जेल नेल र यातना सहेको जिकिर गरे । उक्त कार्यक्रममा ओलीअघि बोलेका एक वक्ताले नेता पद्मरत्न तुलाधरको प्रशंसा गर्दै उनी पार्टीको नभएर देशको नेता भएको बताएका थिए । ओलीले माओत्सेतुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु, नरेन्द्र मोदी पनि उनीहरुको पार्टीको मात्र नभई आआफ्नो देशकै नेता भएको दाबी गरे ।
उनले भने, ‘जसले ५८ वर्ष देशका लागि लडेको छ, अनि म देशको नभएर पार्टीको मात्रै हो र ? म त देशको मान्छे हो, देशका लागि लडेको मान्छे हो, देशका लागि जेल नेल गएको मान्छे हो, देशका लागि यातना सहेको मान्छे हो । नरेशमानजीले अघि भन्नुभयो, पद्मरत्नजी कुनै पार्टीको नभएर सिँगै देशको हो । अनि म चाहिँ घरको मान्छे ?’