संविधानअनुसार बन्न बाँकी कानूनको यथाशीघ्र तर्जुमा गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ, ३ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानूनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

संविधान दिवस, २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सनाले लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो  संविधान आफैँ लेख्ने अवसर पाएकाले संविधान राज्यको मूल कानून भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समवन्यायिक वितरण गर्नतर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गरे। 

“अहिले जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै अराजकता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने पक्षले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ भने अबका दिनमा हाम्रा प्रयास शासन व्यवस्था सुदृढ र संस्थागत गर्दै सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्दछ”, अध्यक्ष तिमिल्सनाको सन्देशमा भनिएको छ ।

संविधान जारी भएको आठ वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले तुरुन्त आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न नपाएकाले जनाउँदै सन्देशमा संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्नसकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराएका हुन् ।

“अहिले पनि संविधानअनुसार बन्नुपर्ने धेरै कानूनहरु बनाउन नसक्दा मुलुकले अङ्गीकार गरेको सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहयुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेका छन्”, उनले भने, “संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव