जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री महत

काठमाडौँ, २२ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो देशसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।

काठमाडौँमा आज शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री महतले तेस्रो देशमा सामान आयात/निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिनुभयो । 

जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले जानकारी दिनुभयो । ‘अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेसका व्यापारी व्यवसायीका समस्या, प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ’, महासेठले भन्नुभयो, ‘यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ । आशा छ उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधेसमा व्यापारिक गतिविधि बढाउन आवश्यक काम गर्न सहयोग गर्नुहुनेछ ।’

सङ्घका महासचिव मनोजकुमार सिंहले अहिले तेस्रो देशबाट आउने मालसामान मधेसका लागि वीरगञ्जमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताउनुभयो । 

‘अहिले भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँसम्म मालसामान लैजाँदा एक हजार एक सय १९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झन्डै दुई सय ५० किमी दूरी कम हुनेछ’, महासचिव साहले भन्नुभयो, ‘यसले यातायातको दूरी कम भई मूल्यमा पनि प्रभाव पर्ने विषयमा अर्थमन्त्रीज्यूलाई लिखतरूपमै जानकारी गराएका छौँ । आशा छ सकारात्मक निर्णय हुनेछ ।’ भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, सम्सतीपुर साहरघाट हुँदै भिठामोड, जलेश्वर भन्सार कार्यालयबाट बर्दिबास, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँसम्मको दूरी आठ सय ८१ किमी हुँदा दुई सय ३८ किमी दूरी छोटिने सङ्घको भनाइ छ । 

सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो देशबाट आउने मालसामान आयात/निर्यात गर्ने मुख्य नाकाका रूपमा स्थापित गरिदिन अनुरोध छ ।’ यसका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वे सेवा सञ्चालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष महासेठले जानकारी दिनुभयो । 

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने घोषणा गर्नुभएको विषयमा सङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री महतको ध्यानाकर्षण गराएको थियो । जलेश्वर भन्सार कार्यालय विसं २०१३ मा स्थापना भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति