सिन्धुली, २८ फागुन । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४, कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये तीनजनाको सनाखत भएको छ । दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अरू मृतकको सनाखत हुन सकेको छैन ।
ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए । १६ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको सिलवालले जानकारी दिए । तीमध्ये आठजनालाई हेलिकोप्टर तथा आठजनालाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको हो । सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ ।
बसको ‘ब्रेक फेल’ भई अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस