काठमाडौँ, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशलाई संकटमा फसाएको आरोप लगाएका छन् ।
आज गहृजिल्ला दाङमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको बताए ।
उनले भने, ‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०- ८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ ।’
देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गरे । उनले भने, ‘बहुमतको आडमा अपराध गर्नेहरूलाई उन्मुक्ति दिने काम भएको छ, ‘प्रचण्ड र देउवाको नजरमा जनार्दनजी चोखिएलान् तर जनताको नजरमा उनले गम्भीर अपराध गरेका छन् ।’






