सरकारविरुद्ध माओवादीको ‘टेक्ने न समाउने’ रणनीति

काठमाडौँ, २६ चैत । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ । पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो । माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन् । यी सबै प्रतिनिधिसभा सदस्य हुन् ।

माओवादी स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देव गुरुङले उनीहरू एमाले प्रवेश गरेका कारण दल त्याग गरेको सूचना पठाएको बताए । ‘दल त्याग गरेपछि सोही सूचना संसद् सचिवालयमा पठाइएको हो’, उनले भने । माओवादीले दल त्यागसम्बन्धी सूचना संसद् सचिवालयमा दिएपछि सहरी विकासमन्त्री साहले एमालेको समेत भोट पाएर जितेका सांसदलाई दाहाल वा माओवादीले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

‘चुनाव जित्न एमालेसँग एकता/सहकार्य गर्ने, तत्कालीन नेकपा अध्यक्ष हैसियतमा सर्वोच्च अदालतमा पुनरवलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिसभा सदस्यमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन’, मन्त्री साहले भने । यसअघि माओवादी अध्यक्ष दाहालले रामबहादुर थापालगायत नेताहरूलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए । ओली नेतृत्वको सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने पनि उनले बताएका थिए । अविश्वास प्रस्ताव ल्याउन नसकेपछि केही दिनयता माओवादीले फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् पार्टीमा फर्काएका कारण अल्पमतमा परेका ओली आफैंले विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्ताव ल्याए राजीनामा दिने बताएका छन् । प्रधानमन्त्री निकट सांसद गोकुल बाँस्कोटाले पनि अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए भैगो नि, अन्य पार्टीमा प्रवेश गरेका नेताहरूलाई कारबाही गरेर किन तर्साउने रु’ बाँस्कोटाले भने ।

माओवादीले पार्टी विधान उल्लंघन गरेको भन्दै एमालेमा पसेका नेता तथा सांसदलाई यसअघि पनि स्पष्टीकरण सोधेको थियो । माओवादीले एमालेमा प्रवेश गरेका रामबहादुर थापासहित २३ नेतालाई स्पष्टीकरण सोध्दै पार्टीमा फर्कन आग्रह गरेको भए पनि उनीहरू फर्केका छैनन् । ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक राखेर माओवादीबाट एमालेमा आएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । गृहमन्त्रीसमेत रहेका थापालाई भने ओलीले वाग्मती प्रदेशको इन्चार्जसमेत बनाएका छन् । त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अघि बढाएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका