शिक्षकद्वारा आफ्नै छात्रामाथि बलात्कार

बैतडी, २३ भदौ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । 

पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । 

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए । उनले भने, “यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।” किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । 

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आरोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय