काठमाडौँ, १९ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।
राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक सङ्केतहरू देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गरे । यद्यपि अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ थियो । आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए ।
मन्त्री पुनले भने, ‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले बिस्तारै त्यसमा सुधार देखाएको छ । विश्व बैंकले ३.३ एडिबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ । यो नौ महिनाका प्रक्षेपण हुन् । आर्थिक वर्ष अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्चहरु हुन्छ । हामीले केही सकारात्मक प्रयत्नहरू गरेका छौँ । अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो ।’
मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए । नेपाल विश्व अर्थतन्त्रका दुई उदीयमान हस्तीहरू भरत र चीनको बिचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नेमा सरकार रहेको उनले उल्लेख गरे । भारत र चीनबाट ठुलो सङ्ख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याए ।