काठमाडौँ, २१ मंसिर । जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ । अन्य कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन ।
जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको हो । नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार यी दुई बैंकले मर्ज भई ग्लोबल आइएई नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । चालु आव ०७६/७७ को बजेटबाट सरकारले वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहित गरेपछि यी दुई वाणिज्य बैंक मर्ज भएका हुन् । ग्लोबलले अहिलेसम्म तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी मर्ज तथा प्राप्ति गरेको छ ।
बैंक मर्ज भएर ठूलो हुँदा सेयर धनी, निक्षेपकर्ता, नियमनकारी निकाय र समग्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बैंकर बताउँछन् । ठूलो बैंक हुँदा लगानीकर्ता, बचतकर्ता र नियमनकारी निकायलाई फाइदा पुगेको पूर्वबैंकर शशिन जोशी बताउँछन् । अब ग्लोबल लगानीकर्ताका लागि पहिलाभन्दा धेरै मुनाफा दिन सक्षम हुने जोशीको धारणा छ । ‘बैंकको ठूलो जोखिम व्यवस्थापन गर्ने क्षमता बढ्छ,’ उनले भने, ‘यसले प्रतिफल बढाउँछ ।’
धेरै बैंकलाई नियमन गर्नभन्दा मजबुत बैंकको नियमन गर्न राष्ट्र बैंकलाई पनि सहज हुने उनले बताए । बैंक मर्ज हुँदा प्रशासनिक खर्च कम हुने र पुँजी ठूलो हुँदा लगानीको दायरा फराकिलो पार्न सहज हुन्छ। अहिलेसम्म ठूला परियोजनामा धेरै बैंक मिलेर लगानी गर्नुपर्ने अवस्था थियो । पुँजी धेरै भएपछि ठूला परियोजनामा एउटा बैंक पनि लगानी गर्न सक्षम हुन्छ । मर्जरले बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि घट्ने विश्वास गरिएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै बैंकको सट्टा थोरै हुँदा अस्वस्थ प्रतिस्पर्धा घट्ने बताए । ‘अहिले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै छ,’ ढुंगानाले भने, ‘१८ वटा संस्था मर्ज भएर एउटा हुनु सुखद पक्ष हो । नागरिक दैनिकले खबर छापेकाे छ ।






