किशोरी आमा बन्ने क्रम अत्याधिक : देशको अर्थतन्त्र, सामाजिक संरचना र चौतर्फी विकासमै असर

शिवा लामा । सरकारले विहेवारी २० वर्ष पारी भन्ने सन्देश दिन थालेको लामो समय भएपनि नेपालमा किशोरी आमाको सङ्ख्या अहिले पनि अत्यधिक नै छ । किशोरी उमेरमा आमा बन्दा बच्चा र आमाको स्वास्थ्यमा मात्र असर पर्ने होइन, त्यसबाट देशको अर्थतन्त्र र सामाजिक संरचना र चौतर्फी विकासमै असर पर्ने भएकोले किशोरी आमा बन्नबाट रोक्न प्रभावकारी नीति नै ल्याउनुपर्ने देखिन्छ ।

कानुनले विवाह गर्ने उमेर केटा र केटीको उमेर २० वर्ष तोके पनि सानै उमेरमा भागेर विवाह गर्ने र परिपक्क नहुँदै बच्चा जन्माउने प्रवृत्ति बढ्दो छ । साथै विभिन्न समुदायमा कन्यादान गर्ने परम्परा अनुसार रजस्वला नहुँदै छोरीलाई विवाह गरिदिने चलन विद्यमान नै रहँदा किशोरी आमाको सङ्ख्या अत्यधिक नै रहेको हो ।

किशोरी आमा बन्ने समस्या गाउँघर वा ग्रामिण भेगको मात्र समस्या होइन, प्रसुती सेवा प्रदान गर्ने राजधानीका अस्पतालहरूको तथ्याङ्कले पनि किशोरी उमेरमा महिला आमा बनिरहेको स्पष्ट हुन्छ ।

राजधानीमै अवस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्क अनुसार २२ हजार १४७ जनाले प्रसूति सेवा लिएकामा दुई हजार ६८५ जना २० वर्षभन्दा कम उमेर छन् । त्यति मात्र होइन, सातजना १२ देखि १४ वर्ष उमेर समूहका थिए । गत वर्ष नै मकवानपुरको राक्सिराङ गाविसकी गङ्गामाया चेपाङले सो अस्पतालमा १२ वर्षको उमेरमै छोरी जन्माइएकी थिइन् । गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा गर्भवती भएको समाचार सार्वनिक भएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएर गंगामायालाई राक्सीराङबाट राजधानी झिकाएर उपचार गरिएको थियो । त्यसको सबै खर्च प्रधानमन्त्री कार्यालयले नै व्योहोरेको थियो ।

गंगामायाको जस्तै सानैमा विवाह हुने र बच्चा जन्मिने क्रम अत्यधिक नै रहेकोले यस समस्याको न्युनिकरणका लागि राज्यले नीति मात्र बनाएर हुन्न, प्रभावकारी कार्यान्वयनका लागि संयन्त्र नै तयार पार्नुपर्ने देखिन्छ ।

यस्तै, महाराजगञ्जस्थित शिक्षण अस्पतालको तथ्याङ्कले पनि किशोरी उमेरमा आमा बन्नेको सङ्ख्या अहिले पनि कायमै रहेको देखाउँछ । गत आर्थिक वर्षमा त्यस अस्पतालमा प्रसूति सेवा लिएका पाँच हजार ९१ जनामध्ये १७० जना २० वर्षभन्दा कम उमेरका थिए ।

त्यस सम्वन्धमा ग्रामीण भेगको सुत्केरी सेवा दिने स्वास्थ्य केन्द्र पनौती नगरपालिका– १० खोपासीको तथ्याङ्क हेर्दा पनि निराशाजनक नै देखिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्क अनुसार ६२ जना सुत्केरीमध्ये १२ जना त २० वर्षभन्दा कम उमेरका किशोरी छन् ।

सो अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत सुभाकर श्रेष्ठका अनुसार कम उमेरका महिलाले गर्भवती भएपछि सो स्वास्थ्य चौकीमा गर्भजाँचका लागि आउँछन् । उनलाई परामर्श दिदा केही कुराको ज्ञान नै नभई गर्भवती भएको बताउँछन्, ति गर्भवती किशोरीसँग बच्चालाई हुर्काउने ज्ञान नै हुँदैन, कुनै योजना विना नै गर्भवती भईसकेपछि गाउँका महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती जाँच गराउनुपर्छ है भनेको भरमा स्वास्थ्य चौकी आएको प्रतिक्रिया दिने गरेको बताउनुहुन्छ ।

अन्जानमै विवाह गर्ने र योजनाविना गर्भवती भएर जाँचका लागि मात्र स्वास्थ्यचौकी आउनेलाई कलिलो उमेरमा गर्भवती हुँदाको जोखिम बताउनुबाहेक अन्य केही उपाय नरहेको उहाँ बताउनुहुन्छ ।

हाल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भई बच्चा जन्मने दिनको पर्खाईमा रहेका सुवास थिङको जोडीको वास्तविक कथा पनि सानै उमेरमा गर्भवती हुुनुको बेफाइदासँगै जोडिएको छ ।

सुवासकी श्रीमती डोल्मा पनि कक्षा ८ मा पढ्दै हुुनुहुन्थ्यो । कक्षा १० मा पढ्ने सुवाससँग विवाह गर्नुभयो । सत्र वर्षको उमेरमा आमा बन्न लाग्दा पेटमा बच्चा नबढ्ने समस्या भएकाले अस्पताल नै भर्ना भएर उपचार गराइरहनुभएको छ ।

नुवाकोट बेलकोट गाविस, देउरालीका डोल्मालाई गाउँको स्वास्थ्य चौकीले थापाथलीस्थित प्रसूति अस्पताल जान सुझाव दिएपछि त्यहाँ आउनुभएको हो । बच्चा जन्मने समयभन्दा एक महिना अगाडिदेखि अस्पताल भर्ना हुनुपर्दा खर्चको पिरलोले वेरोजगार सुवास छटपटिरहनु भएको छ ।

त्यस्तै नुवाकोट तादि गाउँपालिका आमारेकी १७ वर्षिया सवनम स्याङ्तान पाँच महिनाको छोरालाई स्याहारिरहनुभएको छ । तर आफ्नै उमेर सानो भएकोले बच्चालाई भएको अप्ठ्ेरो वा उसलाई लागेको रोगबारे अनविज्ञ हुँदा अत्यन्त दुःख पाएको अनुभव सुनाउनुहुन्छ ।

सर्वोच्च बार एसोसियसनका उपाध्यक्ष एवं अधिवक्ता राजु खड्का

गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी (संहिता) ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद– १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको उमेर २० वर्ष तोकेको छ । उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी (जबरजस्ती वा ललाई फकाई) विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुन्छ । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनीरूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको छ ।

प्रा. डा. जागेश्वर गौतम, निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली

किशोरी आमा बन्दा पर्न सक्ने जोखिम र त्यसको दीर्घकालीन असर धेरै छन् । पहिलो कुरा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक, मानसिक विकासमा अवरोध आउँछ ।

यसबाट देशले स्वस्थ्य नागरिक पाउँदैन । किशोरी आमा शिक्षाबाट बञ्चित हुन्छिन् । त्यसबाट उनी आत्मनिर्भर बन्ने सम्भावना नै समाप्त हुन्छ । आमा र बच्चाको आवश्यकता परिपूर्तिका लागि अरूको मुख ताक्नुपर्ने बाध्यता हुन्छ । धेरै किशोरीले पढाइ छोड्दै आमा हुनु भनेको देशको अर्थतन्त्र र सामाजिक संरचनामा नै असर पर्ने वातावरण कायम हुनु हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक ।  नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत, काठमाडौँमा हाजिर भएकी

काठमाडौँ, २९ कार्तिक । बरिष्ठ हाँस्य कलाकार ‘महजोडी’ मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने

एजेन्सी, २९ कार्तिक । ‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू गर्ने भएकी छन । सन् २०२० को तिहारमा रिलिज

एजेन्सी, २९ कार्तिक । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर