सडक सुरक्षाबारे पुरस्कृत पत्रकार प्यासीले खिचेको तस्वीरको कथा

‘गठ्ठाघरमा मोटरसाइकल दुर्घटनाको पाँच मिनेट..’

२०६७ माघ १९ गते बुधबार दिनको सवा १२ देखि साँढे १२ बजे बीचको समय हुँदो हो । ललितपुर चांगाथलीस्थित कालिञ्चोक माई ग्रील उद्योगका सञ्चालक मित्र कुमार तामांगको मोटरसाइकल पछाडि बसेर म कोटेश्वरतिर आउँदै थिएँ । ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा केही फोटो खिचेर कोटेश्वरतिर आउँन लाग्दा मोडिन ठिमी चोक नै पुग्न पर्यो । जापान सरकारले तिनकुने भक्तपुर खण्डको सडकलाई चौडा गर्ने क्रममा जहातहिँबाट मोटरसाइकल मोड्न नमिल्ने ठाउँ बनाएकोेले हामी मोटरसाइकल घुमाउनकै लागि ठिमी चोक पुगेका थियौं । त्यतिखेर भक्तपुरतिरबाट एउटा ट्रिपर र त्यसको पछिपछि इँटा बोकेको ट्रक आइरहेको थियो । ती दुवैलाई गाडीलाई पठाएपछि मात्रै कुमारले मोटरसाइकल काठमाण्डौतिर सोझ्याए । अनि हामी त्यही ट्रकको पछाडि पछाडि मोटरसाइकलमा आउँदै थियौं ।

ठिमीको चारदोबाटो चोकमा आइनपुग्दै गठ्ठाघरको उकालोमा ठुलो आवाजका साथ सडकको विचमा मानिस लडेको जस्तो देखियो । हामीभन्दा त्यो दुरी लगभग दुईसय मिटर अगाडी थियो । पाइन्टको पेटीमा राखेको सानो डिजिटल क्यामेराबाट कुमारको मोटरसाइकलको पछाडि सीटमा बस्दाबस्दै फटाफट केही र बाँकी २/३ वटा र घटनास्थल पुग्नासाथ फटाफट अरु २/३ वटा फोटो खिचेँ । घटनास्थलमा हेलमेट लगाएका एकजना व्यक्ति आफ्नो दुवै हातले ट्रिपरले किचेर थिलथिलो भएको देव्रे गोडा सकि नसकि उचाल्दै सडकको बीचमा ऐय्या ऐय्या, आमा…पानी भनेर छटपटिईरहेका थिए । उनलाई भर्खरै हामीभन्दा अघिअघि तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिएर देब्रे गोडा तिघ्रादेखि मुनि धुलो हुनगरी किचेर भागेको रहेछ ।

एकातिरबाट म फोटो खिच्दै दौडिँदै घटनास्थलतर्फ आएँ भने गठ्ठाघरतिरबाट एकजना सामुदायीक महिला प्रहरी हवल्दार घटनास्थलतिर दौडेर आउँदै थिइन् । उनी आउनासाथ घाइतेको उद्धार गर्न हारगुहार गर्न थालीन् । घाइतेको देब्रे गोडाबाट केही मासुको टुक्रा उछिट्टिनुको साथै लगभग तीनमिनेटमा सडक नै रगताम्मे हुनेगरि रगत बगिसकेको थियो । घटनास्थलमा एकदुईजना गर्दै हेर्ने मानिसको संख्या बढ्दै थियो, तर घाइतेलाई उपचारका लागि उठाएर गाडीमा हाल्ने कोही अगाडि सरेनन् । घाइते आफ्नो गोडा हेर्दै ऐय्या ऐय्या भनिरहेको दृष्य अत्यन्तै विभत्स र पीडादायी थियो ।

३० सेकेण्डमा ६ वटा फोटो खिचिसकेपछि मैलेपनि पत्रकारको भन्दा एउटा स्काउटको भूमिका निभाउँदै महिला प्रहरीसंगै घाइतेलाई दुर्घटनास्थलबाट उचालेर सडक किनारसम्म लग्यौं । त्यसपछि उपचारका लागि अस्पताल पठाउने गाडी खोज्न थालें । संयोगले त्यति नै खेर साइरन बजाउँदै भक्तपुर नगरपालिकाको एम्बुलेन्स विरामी बोकेर काठमाण्डौतिर आउँदै थियो । एम्बुलेन्स रोकेर त्यसमा रहेका विरामीका आफन्तमध्ये केहीलाई ओराल्यौं । त्यसपछि घाइतेको दाहिने हात समात्दै उनलाई एम्बुलेन्समा राख्न म हतारमै एम्बुलेन्स भित्र छिरेँ । देबे्र हात तिनै महिला प्रहरी हवल्दारले समातेर उचालेकी थिइन भने दाहिने गोडा अर्कै व्यक्तिले । ट्रिपरले किचेर थिलोथिलो भएर पिनिएको देबे्र गोडा समात्ने ठाउँ थिएन, तैपनि च्यातिएर रगताम्मे भएको देव्रे गोडाको पाइन्टको टुक्रा समात्दै त्यो गोडालाई पनि घाइतेसंगै एम्बुलेन्सको सीटमा राखिदियौं । घटनास्थल र घाइतेको अवस्था हेर्दा हामीले अलिकति पनि ढिला गरेमा उनको देव्रे गोडामात्रै हैन, सिंगो ज्यान नै गुम्ने खतरा थियो । त्यसमाथि पनि भाग्यवस त्यति नै खेर एम्बुलेन्स आइसकेको हुनाले हामीले घाइतेलाई जतिसक्दो छिटै अस्पताल पठाउन चाहन्थ्यौ ।

हामीले घाइतेलाई एम्बुलेन्सको सीटमा राख्ने बेलासम्म उनी होसमै थिए र आफ्नो विभत्स गोडा हेर्दै ऐय्या ऐय्या भन्दै थिए । निकै रगत बगिसकेकोले उनको अनुहारको रंग सेतो हुँदै थियो । उनलाई एम्बुलेन्समा हालेर पठाइसकेपछि मेरो हातगोडा लुगलुग काम्न थाले । घटनास्थल र छटपटिईरहेका घाइते देखेपछि अघिसंग मोटरसाइकल चलाएर आएका साथी कुमार त सडक किनारमा मोटरसाइकल अड्याउँदै ओठ तालु सुकाएर थरथर कामिरहेका रहेछन् ।

पछि थाहा भयो, ती घाइते बा २ प १९८८ का मोटरसाइकल चालक भक्तपुर कमलविनायकका २७ वर्षिय दिपक खनिवा रहेछन भने उनको गोडालाई किचेर काट्नुपर्ने स्थितिमा पुर्याउने भक्तपुरकै अर्काे टोलका बा २ ख ७६४० नंका ट्रिपर चालक विक्रम गोसाई रहेछन् । दिपकको ग्वार्कोस्थित बिएण्ड बि अस्पतालमा तत्काल उपचार गरेर दुर्घटनाबाट थिलथिलो भएको उनको देब्रे गोडा काट्नुपरेको थियो ।

काठमाण्डौतिर आउने सडकको दाहिने किनारमा घटना घटेकोले दोष ट्रिपर चालकको या घाइते आफैंको हो ? त्यो ती दुबैलाई मात्र थाहा छ । ट्रिपर चालक विक्रमले कोटेश्वर ट्राफिकमा गाडीसहित आत्मसमर्पण गरेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । दोष जसको भएपनि दुर्घटना अत्यन्त विभत्स थियो, पिसिएको गोडाको अवस्था हेर्दा त्यसमा हड्डीको एउटा पनि टुक्रा बाँकी थिएन ।

गोडा गुमाउनु परेतापनि उनी जीवित छन् । जतिखेर दिपक दुर्घटनामा परेका थिए, त्यतिखेर उनकी पत्नि ८ महिनाकी गर्भवती रहिछिन । दुर्घटनामा मैले खिचेको तस्वीर पत्रिकामा छापिएपछि मलाई कोटेश्वरमा भेटन आएका दिपकका दाजुले भनेका ।

जापान सरकारले काठमाण्डौ भक्तपुर सडकको चापलाई मध्यनजर गर्दै विस्तार गरेको सडक प्रयोगमा आएपछि आजको मितिसम्म चारदर्जनभन्दा बढीले ज्यान गुमाईसकेका छन भने दिपकजस्ता तीनसयभन्दा बढीको अंगभंग भईसकेको छ । यसतर्फ बेलैमा ट्राफिक सचेतना नअपनाउने हो भने भविष्यमा यसै सडकबाट कतिको घर उजाडिने हो, अनुमान गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको