काठमाडौँ, १३ मंसिर । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ हुलास नजिकै वीरगञ्ज-पथलैया सडकखण्डमा ट्रकमा माइक्रोबस ठोक्किँदा ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत हुलास नजिकै प्र.२-०३-००१ ख ५३६० नम्बरको ट्रक ग्यारेजबाट मर्मत गरी जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९८५ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।
आज दुर्घटनामा परेको उक्त माइक्रकोबसमा चालकसहित १० जना सवार थिए । जसमध्ये चार जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।
घाइते हुनेमा माइक्रोबसका चालक बाराको परवानीपुर गाउँपालिका-२ मुसहरीका २८ वर्षीय उत्तम साह, पर्साको वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा पोखरीका ६७ वर्षीय राजेन्द्र महतो, दाङको तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरकी ६९ वर्षीय सकुन्ताल पौडेल रहेका छन् ।
घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिमरास्थित इभर ग्रिन तराइ अस्पताल पठाइएको छ ।







