काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीको सबैभन्दा ठूलो शक्ति नै नैतिकता रहेको बताएका छन् । यदि पारदर्शिताबारे शंका भए अनुसन्धान पनि गर्न उनले आग्रह गरे ।
आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं’ अभियान अन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले भने, ‘हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ यही हो । हाम्रो सबैभन्दा ठूलो क्यापिटल भनेकै मोरल क्यापिटल हो । हामी विपी कोइरालाको पार्टीका कार्यकर्ता हौं । हामी गणेशमान सिंहको पार्टीका कार्यकर्ता हौं । हामी कृष्णप्रसाद भट्टराईको पार्टीका कार्यकर्ताहरू हौं । हामीसँग त्यो लिगेसी छ ।’
यो नैतिकताको पुँजी कायम राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । यसका निम्ति प्रत्येक कांग्रेस तयार हुनुपर्ने उनले बताए । आफू समेत यही सोचका साथ अगाडि बढेको उनले बताए ।
उनी भन्छन्, ‘मेरो सार्वजनिक जीवनमा व्यक्तिगत जीवन छ । मेरो परिवार छ, मेरो आफ्नो आर्थिक जीवन छ । ती सबै कुराहरूको बारेमा म सार्वजनिक ठाउँमा आएकाले गर्दा मेरो ती सबै कुरा पारदर्शी हुनुपर्छ ।’
यहाँनेर उनले सरकारले चाह्यो भने आफूमाथि अनुसन्धान पनि गर्न सक्ने उनले बताए । सभापति थापाले भनेका छन्, ‘मेरो काहीँ कतै सरकारले चाहन्छ, मेरो अनुसन्धान गर्छ भने गर्छ । यी सबै कुराहरूका लागि हामी सबै तयार हुनुपर्छ । किनभने त्यसमा हामी सबै खरो उत्रिएर आएको हो । त्यसैले त्यो मोरल ग्राउण्ड हामीसँग छ ।’







