एजेन्सी, ११ मंसिर । पश्चिमी नाइजरको सानाम क्षेत्रमा राष्ट्रिय सुरक्षा गार्डको शिविरमाथि सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा १३ सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
नाइजरको रक्षा मन्त्रालयले बिहीबार भएको आक्रमणमा ठूलो संख्यामा भारी हतियारसहित आएका आक्रमणकारी संलग्न रहेको जनाएको छ । मन्त्रालयले सरकारी टेलिभिजनमार्फत जारी वक्तव्यमा घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ ।
मन्त्रालयका अनुसार सुरक्षाकर्मीको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएका छन् भने उनीहरूको सैन्य तथा सेल्टर संरचना नष्ट गरेका छन् । आक्रमणकारीको खोजी तथा पक्राउ गर्न सुरक्षा कारबाही जारी रहेको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यम एक्टु नाइजर र सुरक्षा स्रोतका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहान करिब ५ बजे भएको थियो । सानाम पश्चिमी नाइजरको तिलाबेरी क्षेत्रमा पर्छ । यो क्षेत्र मालीको सीमासँग जोडिएको छ र यहाँ सशस्त्र समूहहरूले सुरक्षा बलमाथि नियमित आक्रमण गर्दै आएका छन् । पछिल्लो आक्रमण कसले गराएको हो भन्ने खुल्न सकेको छैन ।







