नागरिकता किर्ते गर्ने ४ जना पक्राउ

काठमाडौँ, ११ मंसिर । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

स्याङ्जा जिल्ला अदालतले उनीहरूलाई कारागार पठाउने आदेश दिएको हो । जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईँ, लेखापाल रमेश विक र किर्तेका मतियार आरोपी प्रयासी गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

प्रहरीले चारै जनालाई गत कात्तिक १६ गते पक्राउ गरेको थियो । स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुर अन्तर्गत मुद्दा दायर गरेको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरू कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएकाले दफा ६७ को १(ख) बमोजिम कारागार पठाइएको अदालतका स्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए ।

प्रयासी गुरुङले आफ्ना दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरेका कागजात रुजु गर्दा उनीसँग दुईवटा नागरिकता रहेको खुलेको थियो । गुरुङले २०५६ चैत ३ गते स्याङ्जाको ठेगाना राखी ५७०६६ नम्बरको पहिलो नागरिकता लिएका थिए भने २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका ७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको दोस्रो नागरिकता लिएको पाइएको थियो ।

दुईवटा नागरिकता भेटिएपछि कास्की प्रशासनले पहिलो नागरिकता रद्द गरिएको भए सोको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग माग गरेको थियो । सोही विषयमा छानबिन गर्दा तीन कर्मचारीको संलग्नतामा गत भदौ १५ गते नागरिकताको अभिलेख किर्ते गरिएको खुलेको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार छानबिनका क्रममा लेखापाल विकले कागजात तयार पारेको, कम्प्युटर अपरेटर चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गरेको र प्रशासकीय अधिकृत शर्माले प्रमाणित गरेको देखिएको छ । निर्णय अनुसार नभई कागजी रूपमा देखाउनका लागि मात्र नागरिकता रद्द गरिएको थियो ।

यस घटनामा प्रशासनले भदौ २६ गते नै अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो । त्यस्तै, गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि असोज २८ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पत्र पठाएपछि प्रशासनले कात्तिक ९ गते पुनः प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ मंसिर । अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ । भारी वर्षा,

एजेन्सी, १० मंसिर । इजरायलले गाजाको दीर अल बलाहमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणमा

कायरो, १० मंसिर । इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी

काठमाडौँ, १० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट