बुटवल, २९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउने बताएका छन् ।
छठ पर्व–२०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीको समाधान आपसी संवाद, सहकार्य र साझा समझदारीबाटै सम्भव हुने बताएका हुन् ।
उनले पर्वका माध्यमबाट सामाजिक विभेद, कुरीति र विकृति अन्त्य गर्दै न्यायपूर्ण तथा समतामूलक समाज निर्माणमा सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको पनि उल्लेख गरेका छन् ।






