काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट फेला परेको राहदानी (पासपोर्ट) का आधारमा उनको पहिचान भारत, पश्चिम बङ्गाल (कालिम्पोङ) का ४१ वर्षीय सायन्तन गायेन रहेको खुलेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उक्त कारमा चालक मात्र सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटना कसरी घट्यो भन्नेबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







