काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वभरका नेपालीको समस्या र आवश्यकता बुझेर काम गर्नुपर्ने बताएकी छन् ।
आज प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएकी हुन् ।
विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै भण्डारीले तर प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्नु नमिल्ने बताइन् ।
‘विदेशमा रहँदा हासिल गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृति पनि देशका लागि उत्तिकै महत्त्वपूर्ण पुँजी हुन् । यसलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा क्षेत्रको विकाससँग जोड्ने उपयुक्त वातावरण निर्माण गर्नु पर्दछ’, भण्डारीको भनाइ छ ।
‘आफू बसेको मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी, मेहनत र व्यावसायिक दक्षताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक छ’, भण्डारीले भनिन्, ‘साथै, नेपाल र आफू बसेको मुलुकबिच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न पनि तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।’







