काठमाडौँ, १८ कार्तिक । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् ।
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशन अनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए । तर पार्टी प्रवक्ता जगदीश खरेलले पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम पनि नगर्ने बताएका हुन् । उनले केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनामा कारबाही भएको भए पनि सरकारले स्पष्ट भन्नुपर्ने बताए।
उनले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ । कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन । पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने खालको निर्देशन दिँदा पनि दिँदैन, दिएको पनि छैन। पार्टीको भूमिका यसमा छैन ।’
आजको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको हो।







