काठमाडौँ, १६ कार्तिक । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मजदुर आन्दोलनका दशहजार बढि ऐतिहासिक दस्तावेजहरुलाई ‘र्याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता (एआई)मा आधारित पुस्तकालयलाई डिजिटल घरमा रुपान्तरण गरेको छ ।
जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत जिफन्टले सन् १९९४ मा स्थापना गरेको स्रोत केन्द्र (एनएलआरसी)ले भौतिक पुस्तकालयका रूपमा आफ्नो यात्रा सुरु गरेको थियो । एनएलआरसीले आइतबार एक समरोहबीच ‘एआई’ युगको मर्मलाई आत्मसात् गर्दै मजदुर आन्दोलनका बहुमूल्य भौतिक अभिलेखालयलाई एक जीवन्त डिजिटल घरमा रूपान्तरण गरेको हो ।
त्यसका साथै जिफन्टले श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह-अस्तित्वसम्म’ नामक पुस्तकको समेत विमोचन गरेको छ । ‘श्रम आन्दोलनको परम्पराको संरक्षण गर्न, ज्ञान र मानिसबीचको सम्बन्ध स्थापित गर्न, कामको भविष्य सशक्त बनाउन.., सम्पर्क गरौँ ! सिकौँ ! काम गरौँ !’ भन्ने मूल ध्येयका साथ एआईमा आधारित डिजिटलक नयाँ अध्याय सुरु गरिएको जिफन्टले जनाएको छ ।
‘आज राष्ट्रिय श्रम स्रोत केन्द्रमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, आवधिक प्रकाशन, तस्बिर, भिडियो तथा अन्य महत्त्वपूर्ण सामग्रीहरूको सङ्कलन छ । यसको विस्तार निरन्तर भइरहेको छ’, जिफन्टका संरक्षक विष्णु रिमालले एआईमा आधारित दस्तावेज डिजिटलाइजेसन सम्बन्धी जानकारी गराउँदै भन्नुभयो।
सार्वजनिक गरिएको डिजिटल घर मार्फत् ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आफूलाई आवश्यक ज्ञान र सूचना एउटै खोजमार्फत केही सेकेन्डमै प्राप्त गर्न सकून् भन्ने उद्देश्य जिफन्टले राखेको छ । राष्ट्रिय श्रम स्रोत केन्द्रलाई सूचनाको भण्डारमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको अन्तरक्रियात्मक मञ्चमा रूपान्तरण गर्ने उद्देश्यका साथ जिफन्टले- ‘ज्ञान बाँडौँ, साझेदारी विस्तार गरौँ ! ज्ञान बाँडेर नै ज्ञानको विस्तार हुन्छ !’ नारा अघि सारेको छ ।
राष्ट्रिय श्रम स्रोत केन्द्रले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को पुस्तकालयलगायत समान प्रकृतिका ज्ञान केन्द्र, डिजिटल अभिलेखालय तथा अन्तर्राष्ट्रिय पुस्तकालयहरूसँग संस्थागत साझेदारी विकासको प्रयासलाई समेत अघि बढाएको जिफन्टले जनाएको छ ।
हाल परीक्षण चरणमा सञ्चालन भइरहेको यो एआईको प्रयोगका लागि प्रयोगकर्ताहरूले सेवा लिनका लागि नेशनल लेबर रिसोर्स सेन्टर (एलआरएस) कार्यालय अनामनगर, काठमाडौंमा उपस्थित भएर उपलब्ध सामग्री तथा सेवाहरूको उपयोग गर्न सक्नेछन् । डिजिटलीकरण प्रक्रिया अघि बढ्दै जाँदा र आवश्यक प्रणालीहरू सञ्चालनमा आएपछि केन्द्रले आफ्ना सेवाहरू एपमार्फत विस्तार गर्ने जनाएको छ ।
सुरुमा जिफन्ट ट्रेड युनियन स्कुलका शैक्षिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले यो केन्द्र स्थापना गरेको थियो । केन्द्र क्रमश: श्रमिक शिक्षा, युवा नेतृत्व विकास तथा प्राविधिक सीप अभिवृद्धिमा सहयोग पुर्याउने प्रशिक्षण तथा स्रोत केन्द्रका रूपमा विकसित भएको थियो । यही परम्परालाई निरन्तरता दिँदै राष्ट्रिय श्रम स्रोत केन्द्रले अहिले श्रमको संसारप्रति समर्पित डिजिटल ज्ञान केन्द्रका रूपमा आफूलाई रूपान्तरण गर्ने महत्त्वाकाङ्क्षी नयाँ यात्रामा अघि बढेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि आईटीयूसी-एपीका महासचिव शोया योशिदाले जिफन्टलाई यो रचनात्मक कार्यका लागि धन्यवाद दिदै नयाँ पुस्तामा ज्ञान बाँडेको भनि प्रशंसा गर्नुभयो।महासचिव योशिदाले भन्नुभयो- ‘मजदुरको चाहना फरक-फरक हुन सक्छन् । परस्पर सम्मान र हितका लागि लोकतान्त्रिक गरेर जाने हो । जिफन्टको यो अभियानले एसियको ट्रेड युनियनलाई नभई संसारभरीका मजदुर आन्दोलनलाई टेवा पुर्याएको छ ।’
कार्यक्रममा एजुकेशन इन्टरनेसनल एपीका क्षेत्रीय निर्देशक आनन्द सिंह, पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)का क्षेत्रीय प्रमुख कन्नन, बी.डब्ल्यु.आई.का अपोलिनार टोलेन्टाइन, डब्ल्यु.एस.एम.का ब्रुनो, आईटीयूसी एपीका पातुआन, सोलिडारिटी सेन्टरकी, लुना रञ्जितको विशेष उपस्थिति थियो ।
जिफन्टका महासचिव लक्ष्मण शर्माले सञ्चालन गर्नुभएको कार्यक्रमको उद्घाटन मन्तव्य युएनआईका महासचिव राजेन्द्र आचार्यले राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले अन्तमा सहभागी पाहुनाहरुलाई कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।







