एजेन्सी, १६ कार्तिक । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन् ।
उत्तरी गाजा सहरको अल-रिमाल क्षेत्रस्थित काइरो स्कुल नजिकै नागरिकको समूहलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणमा चार वर्षका बालकसहित तीन जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन् ।
त्यस्तै दक्षिणी सहर खान युनिसको अल-मावासी क्षेत्रमा नियमित ड्युटीमा रहेका प्रहरी अधिकारीहरूको समूहलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएको छ। उक्त आक्रमणमा पाँच जना प्रहरीको ज्यान गएको छ ।
इजरायली सेनाले भने सैन्य क्षेत्रमा सक्रिय दुई समूहलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरे पनि त्यसको प्रमाण वा थप विवरण सार्वजनिक गरेको छैन ।
गाजा सहरको शिफा अस्पताल बाहिर सार्वजनिक दृश्यहरूमा मानिसहरू सेतो कपडामा बेरिएका दुई वयस्क र एक बालकको शव नजिकै प्रार्थनाका लागि भेला भएको देखिन्छ।
खान युनिसको नासेर अस्पताल बाहिर शवहरू राखिएपछि आफन्तहरू शोकमा डुबेका थिए। मन्त्रालयले ज्यान गुमाउने २३ देखि ५३ वर्ष उमेर समूहका पाँचै जना प्रहरी अधिकारीको नाम सार्वजनिक गर्दै यसलाई ‘नरसंहार’ भनेको छ।







