मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब ४५ करोड राजस्व

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी रु दुई अर्ब ४५ करोड ४७ लाख भन्सार राजस्व सङ्कलन गर्न सफल भएको छ ।

भन्सार कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कार्तिक १३ गतेसम्मको अवधिमा कोरलानाकाबाट रु २६ अर्ब एक करोड २३ लाख मूल्यबराबरको मालवस्तु आयात भएको छ । त्यसैगरी, नेपालबाट भने रु २८ करोड ६३ लाख मूल्यबराबरको मालवस्तु चीनतर्फ निकासी भएको छ । यस अवधिमा मुस्ताङ भन्सार कार्यालयमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युती सवारीसाधन (ईभी)को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरे । गत वर्ष मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।

दसैँअघि असोज २७ गतेसम्म कार्यालयले रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेकामा दसैँपछि भने थप रु तीन अर्ब १२ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । दसैँअघि कोरलानाकाबाट रु १० अर्ब ४० करोड ६९ लाखबराबरका चिनियाँ मालवस्तु कोरलानाका हुँदै नेपालतर्फ आयात भएकामा दसैँपछि भने थप रु छ अर्ब ७० करोड ५४ लाख मूल्यबराबरको चिनियाँ मालवस्तु नेपालतर्फ आयात भएको मुस्ताङ भन्सार कार्यालयले उल्लेख गरेको छ ।

त्यसैगरी, चालु वर्षको साउनदेखि असोज २७ गतेसम्म कोरलानाकाबाट तीन हजार ९२६ वटा बिद्युतीय सवारीसाधन नेपाल भित्रिएकामा दसैँपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा विद्युतीय सवारीको भन्सार जाँचपास भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग.

काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १६ कार्तिक । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय