एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ ।
रुसको बढ्दो हवाई आक्रमणबाट बच्न युक्रेनलाई अत्यावश्यक मानिएका यी क्षेप्यास्त्रको मूल्य २.१ अर्ब अमेरिकी डलर (करिब १.६ अर्ब पाउन्ड) रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, उन्नत पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको खरिदका लागि क्यानडा र युरोपेली सहयोगी राष्ट्रहरूले पूर्ण रूपमा आर्थिक सहयोग गर्नेछन् । यसमा अमेरिकाको कुनै सरकारी रकम खर्च हुने छैन। अमेरिकी कम्पनी लकहिड मार्टिनले क्षेप्यास्त्र निर्माण गर्नेछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी निर्णयको स्वागत गर्दै युक्रेनलाई क्षेप्यास्त्र तत्काल आवश्यक रहेको बताएका छन्। तर, क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने उनको चेतावनी छ । रुसले आगामी हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । पछिल्लो दुई सातामा युक्रेनको विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनामा ३० भन्दा बढी रुसी आक्रमण भएको जेलेन्स्कीले बताएका छन् ।







