काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक सिरहा धनगढीमाई नगरपालिका–१३ का १९ वर्षीय सुरज यादवको साथबाट ५.५७ ग्राम खैरो हेरोइन फेला परेको हो ।
मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।








