काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ आफ्नै कोठाभित्र मृत फेला परेका हुन् । स्थानीयका अनुसार कोठाबाट दुर्गन्ध आउन थालेपछि इलाका प्रहरी कार्यालय विराटनगर रानीलाई खबर गरिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानपछि श्रेष्ठको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ ।
मृतकका आफन्तका अनुसार श्रेष्ठको चार–पाँच दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक रूपमा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।







